छथरको वर्णन र धनकुटामा खेवाहाङहरु – लोकेन्द्र तिगेला खेवाहाङ

नेपालको पूर्व क्षेत्र हाल नौ जिल्लामा विभाजन गरिएको छ । लिम्बुवान भूमि रहँदै ऐतिहासिक पहिचान भएका यि क्षेत्रहरुको इतिहासकारहरुबाट आ–आफ्नै विश्लेषणहरु नभएका भने होइनन् । त्यसमा पनि लिम्बुवान समाज वर्तमान समयमा विभिन्न जातिगत समुदायमा विभाजित भएर धेरै जात जातिमा पररिणत भएको कुरा सर्वविदितै छ ।

लिम्बुवान भूमिको नामाङ्करण र प्रथम आगमनकर्ता लिलिमहाङलाई नै मान्न सकिन्छ र उनको शासनकालबाट नै यो भूमिलाई लिम्बुवान राखिएको हो । किरात वंशको शासन काठमाण्डौं उपत्याकामा समाप्त भएपछि पूर्वतर्फ लाग्ने क्रममा अरुणपूर्व तावालुङ सुसुवादेनमा लिलिमहाङले राज्य स्थापना गरेका थिए । लिलिमहाङको आगमन चौथो सताब्दी तिर भएको अनुमान गरिएको छ । लिलिमहाङ कै वंशज कालन्तरमा हाङजिलि हाङदुम्बाको पालापछि मात्र छ थरीमा विभाजन भएको थियो । छथर बन्न भन्दा अगाडि यो क्षेत्रलाई फेदाप भनिन्थ्यो । सत्र थुममा लिम्बुवानलाई विभाजन गर्नेक्रममा मात्र छथर थुम बन्न गएको हो । लिलिमहाङको शासन चलेको धेरै पछि मात्र यस क्षेत्रलाई दस लिम्बुवानमा पुनर्संरचना गरिएको थियो । दश क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा एक ‘हाङ्’ तोकिएको थियो । समग्रमा ‘थिवोङ याक्थुङ हाङ’ भनिन्थ्यो । यी थिवोङ याक्थुङहाङ मध्येका एक खेवाहाङहरु पश्चिममा दुधकोसीसम्म शासन गर्दथे ।

माथि उल्लेखित दस लिम्बुवान क्षेत्र ‘थिवोङ याक्थुङ लाजे’ पछि विभाजन भएको सत्र थुमको निर्माण गर्ने क्रममा बनेको छथर थुम पनि एक हो । यसको सिमाङ्कन पूर्वमा नुभु खोलाशिरदेखि तमर दोभानसम्म, पश्चिममा लेगुवा खोला हुँदै अरुण दोभानसम्म, उत्तरमा पाँचपोखरी, तीनजुरे पहाडसम्म, दक्षिणमा तमर नदीलाई छथर मौजा नामाङ्करण गरिएको थियो । ‘छथर मौजा’ खेवाहाङ वंशजहरु दुवो ढुंगो गाडी बालुवा उडाई ‘हाङ्सेम्मा लुङ’ राखी वंश फुटाएर छ थर बनाएपछि त्यही छ थरीको इतिहास कायम हुने गरी त्यस क्षेत्रमा उनीहरुको प्रभावका कारण ‘छथर’ राख्न लगाएका हुन् र उक्त माथिको चार किल्ला क्षेत्र नै ‘छथर थुम’ को रुपमा विकास भएको हो ।
तावालुङ सुसुवादेन ताक्लुङलाई आफ्नो प्रमुख आगमनस्थल (माङ्गेना यक) र राजधानी गढी मान्ने खेवाहाङहरु कसरी हात्तिखर्क, मुर्तिढुंगा, सान्ने लगायतका जमिनमा उनीहरुको बर्चस्व रहयो भन्ने तर्फ यो लेखमा प्रष्ट पार्ने जमर्को गरेको छु ।

हाङजेली हाङदुम्बाको शासनकालमा दस लिम्बुवानको राज्य प्रशासन कमजोर भएर गयो । यसको परिणामस्वरुप गाउँ नै पिच्छे राजा हुने परम्पराको विकास भयो । यो संगै आपुङ्गि राजाहरु जन्मने र बढ्ने क्रम बढ्यो । यो करिव सेनकालको आसपासमा थियो । सेनहरुको प्रशासन पनि कमजोर थियो । एउटा गाउँले अर्को गाउँको जग्गा हडप्ने हत्या गर्ने जस्ता क्रमहरु बढ्यो । आपुङ्गि राजाहरु जन्मने क्रममा धनकुटा जिल्लाको हातिखर्क, मुर्तिढुंङ्गा, सान्ने क्षेत्रमा छोङदेनहाङ्गले आफ्नो अधिपत्य कायम गरेका थिए । त्यसरी नै मुगा, फलाटे क्षेत्रमा रुदुवाहाङ्ग अस्थित्वमा आए । रुदुवाहाङ्गले छोङ्देनहाङ्गको जग्गा हडपे पछि उनीहरुबीच विशाल युद्ध भयो । यो युद्धमा छोङ्देनका सवै सेना कुल कविला मारिए । छोङदेनहाङ्ग भागेर डङडङेको बाटो हुँदै हाङजेली हाङदुम्बाहाङ्गको सरण लिन पुगेका थिए । धरै दिनको युद्ध, भोक, तिर्खा र थकानले लखतरान भएका छोङ्देन हाङजेली हाङदुम्बाको दरवार नजिकैको पधेरामा लम्पसार परेर सुतेको अवस्थामा फेला परे । उनलाई हाङजेली हाङदुम्बाका सुराकीले भेटाएर अपरिचित व्यक्ति त्यसरी लम्पसार परेर सुतेको अवस्थामा पाइएको भनि हाङजेली हाङदुम्बा राजाकहाँ खवर पु¥याए । उक्त खवर पाएपछि हाङजेली हाङदुम्बाले यथार्त विवरण पेस गर्न अधिकारीहरुलाई निर्देशन दिए । उनको निर्देशन पाएपछि भोक तिर्खा र निन्द्राले लखतरान भएको व्यक्ति भएको जानकारी दिएपछि राजाले दरवारमा ल्याई खाना पानी खुवाएर जानकारी लिन निर्देशन दिए । खाना पानी दिएर जानकारी लिने क्रममा उनले रुदुवाहाङ्गले आफ्ना सम्पूर्ण सेना कुल कविला समाप्त पारेको र आफु भागेर शरण पर्न आएको बताए । उनले खेवाहाङ्गको ज्वाईचेला भएको बताउँदै सहयोग पाएमा उक्त जमिन रुदुवाले जितेर खाएको भन्दा ससुरालीले जितेर खाएको वेस भन्दै सहयोगको लागि अनुरोध गरे । उनले रुदुवालाई त्यस भूमिबाट लखेटेमा उक्त भूमि खेवाहाङ्गहरुलाई सुम्पने बाचा समेत गरे ।

यसपछि खेवाहाङ्ग राजा हाङ्गजेली हाङ्गदुम्बाले सेनाहरु पठाई छोङदेनहाङ्गलाई सहयोग गरे । उनका सेनाले मुर्तिढुंगा हुँदै माङ्माया खोला, लेगुवा दोभान, ओख्रे खोला तिर व्यापक रुपमा रुदुवाहाङ्ग र तिनका लडाकुको खोजी गरे । यही क्रममा घट्टे खोलाको साठीमुरे डाँडामा रुदुवाहाङ्गको लडाकुहरुसंग जम्का भेट भयो । यहाँ घमासन युद्ध भएपछि रुदुवाहाङ्गका लडाकुहरुलाई छाप्लाङ खोला पारी खेवाहाङ्ग सेनाहरुले लखेट्न सफल भए । यही युद्धमा रुदुवाहाङ्गलाई त्यहाँबाट पनि लखेटेर विजयपुरको पानमारा तेर्सो खेदाउँदै बुढी खोला कटाएका थिए । उनी र उनका बुढी फुपु केही समयसम्म बुढी खोला पारी लुकेर बसेका थिए । उनका फुपुले बुढीखोला पारी खेत पनि विराए । यो बुढी खेत यद्यावधी छदै नै छ । सर्त अनुसार नै छोङदेन हाङ्गले खेवाहाङ्गहरुलाई मुर्तिढुंगा, हात्तिखर्क सान्ने लगायतका भू–भाग आफ्नो पुजागर्ने खेत कायम राखी बाँकी सवै खेवाहाङ्गहरुलाई सुम्पिए । यही क्रमा छाप्लाङ खोला राम्च्या डाँडापूर्वको जमिन खेवाहाङ्गहरुको भयो । छोङदेनहरुले थामडाँडा पानीढलो दक्षिणतर्फको जमिनमा छोङ्देन वंश रहने टुङ्गो लगाए । कालान्तरमा पुनः छोङदेन र रुदुवाहाङवीच सम्झौता भई छाप्लाङ खोला र रुदुवा खोला सिमाना तोकेका थिए । जसमा छाप्लाङ र रुदुवा खोला तरेर रुदुवाले अतिक्रमण नगर्ने सम्झौता भएको थियो ।

यो भू–भाग राजा हाङजेली हाङदुम्बाले आफ्ना सवै वंशजहरुको साझा भूमि वा स्वामित्वको रुपमा रहने निधो गरे । छोङदेनको भूमिमा पछिसम्म तावालुङ सुसुवादेन ताक्लुङ (सुदाप) बाट नै खेती विराउने, लगाउने कार्य गर्दथे । समयक्रम संगै यो खेती टाढा भएकाले खेवाहाङका सन्तानहरु यो क्षेत्रमा सुदापबाट यतै घर बनाएर बस्न थाले । जस अनुरुप छ थरी खेवाङ मध्येका जेठा मुत्तिमहाङ्ग तिगेला खेवाहाङ, माइलो लुम्दुङहाङ्ग माङयाक खेवाहाङ, साइलो लेतुमहाङ्ग आङलावाङ खेवाहाङ, कान्छो चोङवाङ खेवाका सन्तानहरु यस क्षेत्रमा बस्दछन् । माइलो लुङलुमहाङको छोरा माङयाकबाट पछि तुम्बा र पिपुङहाङ्ग मादेन थर विभाजन भई तुम्बा र मादेनहरु पनि यस क्षेत्रमा बसोबास गर्दछन् । गोरखा–लिम्बू युद्ध पछि एवम् सन्धी सम्झौताको माध्यमबाट लिम्बुवान नेपालमा गाभिएपछि यस क्षेत्रमा किपट प्रथा लागू भयो । यो किपट प्रथामा समेत यस धनकुटा जिल्लाको मुर्तिढुंगा, हात्तिखर्क, सान्ने लगायतका क्षेत्रहरुमा १९ जिम्मा खेवाङहरुकै कायम भएकाले पनि छथरे खेवाहरुको बसोबास भएको हो ।

लेखक: हात्तिखर्क गाविसका पूर्व निर्वाचित गाविस अध्यक्ष,
गाउँ पञ्चायतका प्रधानपञ्च तथा
खेवा वंशावली संकलनकर्ता र श्रृङ्खला नामक कविता संग्रह–२०६८ का लेखक हुनुहुन्छ –सम्पादक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*