लिम्बु (याक्थुङ) जातिको खेवा (खेवाहाँङ) थर भित्र ६ वटा उपथर रहेका छन ति थरहरु तिगेला, मादेन, माङयाक, तुम्खेवा, आङ्खेवा र चोङवाङ हुन । खेवाहरु पूर्वी नेपालको प्रदेश न १ को छथर गाँउ पालिका (तेह्रथुम) र छथर जोरपाटी गाँउ पालिका (धनकुटा) मा बसोबास गर्दछन । ६ थरी खेवाहरुको यक छथर तेह्रथुमको ताक्लुङ यक हो ।
यस थुमलाई मुख्य आवादस्थल बनाई बसोबास गर्ने छ वटा थरका लिम्बू प्रमुखहरुको यहाँ मुख्य परम्परागत किपटिया सुवांगी रहेको थियो । ती लिम्बू हाङ (प्रमुख)हरुमा खजुम, खेवा, खादी, मुबेरु, हाङ्बेरु र हाबेरुहाङ हुन्।
यस छथरमा मुख्य बसोवास गर्ने खजुमहरु भित्र पनि ६ वटा उपथर रहेका छन । खेवा र खजुम दुवै थरमा ६/६ थरि रहने भएकोले यस क्षेत्रलाई छथर भनिएको विश्वास गरिए पनि इतिहासमा ६ लिम्बुवानको पनि चर्चा हुने गरेको छ ।
खेवा भित्रका छ थरीहरुले पंक्षि (कुखुरा) खादैनन तर खजुमहरुले खाने गर्दछन ।
छथर थुमअन्तर्गत तेह्रथुमको आङदिम, हमरजुङ, वसन्तपुर, फुलेक, दागपा, सुदाप, ओख्रे, फाक्चामारा र पञ्चकन्या गाउँ पर्दथ्यो । यस्तै धनकुटाका हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, मारेकटहरे, पाख्रिबास, लेगुवा, सान्ने, फलाँटे, घोर्लिखर्क, तेलिया, परेवादिन र ताङ्खुवा गाउँ छथर थुमअन्तर्गत पर्दथ्यो ।
