तिगेला खेवाहाङ चुम्लुङको परिचय

परिचय
तिगेला खेवाहाङ चुम्लुङ आदिवासी/मुलवासी/भूमिपुत्र किरात–याक्थुङ–राय–लिम्बू पहिचान भएकाहरुको एक प्रथाजनित/परम्परागत संस्था हो । तिगेला आजको मितिमा २९४ लिम्बू थरहरु मध्ये एक प्रमुख थर हो । यो तिगेला थर खेवाहाङ मिङस्राबाट विकसित भई बनेको हो । खेवाहाङ भित्र तिगेला, तुम्बा (तुम्खेवा), मादेम्बा, माङयाक (माङखेवा), आङ्लावाङ (आङ्खेवा), चोङबाङ गरी ६ थरी छन् । यिनै ६ थरी खेवाहाङ (खेवा) को प्रभावमा सम्बत १८६७ मा फेदाप थुमबाट फुटाई छथर थुम निर्माण गरेका हुन् । थिवोङ याक्थुङ लाजे (दश लिम्बुवान) का एक प्रमुख प्राचिन ताक्लुङ राज्यका शासक खेवाहाङका विकसित ६ थरीमध्ये तिगेला जेठो हो । थिवोङ याक्थुङ (दश लिम्बू) मध्ये सवैभन्दा पुरानो गढी ताक्लुङ हो । यो काठमाण्डौ उपत्याकाबाट किरात राजा लिलिमहाङले राजधानी सारेको ठाउँ पनि हो ।

तिगेला शब्द तिवेराबाट अपभ्रंश भइ बनेको हो जसको अर्थ “बेत” भन्ने लाग्दछ । पछि तिगेला थर बन्दा बेतघारीमा घर बनाई बसेकाले “तिवेरा” हुँदै “तिगेला” भन्न थालिएको भनाई छ । हुनतः यसरी थर निर्माण हुन थालेको लामो समय भने वितेको छैन । सेनकालमा खेवाहाङ (खेवा) भनेर चिनिन्थे । उनीहरुको सामुहिक पहिचान रहेको थियो । पछिसम्म व्यक्तिगत पहिचान भन्दा सामुहिक पहिचानकै आधारमा चल अचल सम्पतिको भोग चलन गर्दथे । भूमि सामुहिक थियो र सामुहिक प्रणालिमै विश्वास गर्दथे । यस अवस्थासम्म आदिम साम्यवाद (primeval communism) कायम थियो । उत्पादनका सामाग्रीमा व्यक्तिको नभएर समूहको नियन्त्रण एवम उत्पादन (production) मा समान वितरण प्रणाली रहेको थियो ।

खेवाहाङ (खेवा) पहिचान तिगेला लगायत ६ थरको साझा हो । याक्थुङहाङ लिलिमहाङ खेवाहाङ हुँदै तिगेला बन्न पुगेका हुन् । उनीहरुको मिङस्रा “सिमिरीफुङ, हाङमेरी फुङ, तो फेमेलीफूङ फेक्का याक्थुङहाङ लिलिमहाङ हाङजिकुमहाङ खेवाहाङ्ङा वारुगर कुवाप्मासा कत्तुगर कत्तुवासा” हो । सिमेरीफुङ सिरुको फूल हो भने हाङमेरी अमरलताको फूल हो । यसैगरी फेमिलीफुङ एक प्रकारको वास्नादार फूल हो । यस्तो आफ्नै राष्ट्रिय फूल भएका खेवाहाङहरुको पुर्खा याक्थुङहाङ, लिलिमहाङ, हाङजिकुमहाङ, खेवाहाङ, हाङजिली हाङदिमहाङहरु हुन् । र, माङगेन्ना यक तावालुङ सुसुवादेन ताक्लुङ हो ।

चुम्लुङ याक्थुङहाङ लिलिमहाङ (लिम्बू) हरुको प्रथाजनित परम्परागत संस्था हो । जसको संरचना हाङ/चुम्लुङ्दाङवा, तुतु–तुम्याङ/या?लासुहाङ (भद्रभलादमी महिला सज्जनवृन्द), नालि–थाङवेन/सिसा–मेन्छ्या (युवा), पासिङ–पादाङ (सदस्यहरु), पेगि–फाङसाम (पुजारीहरु), इङमेवा (सरदार), फासिङदाङवा (आर्थिक प्रमुख), सिजोवा–इङ्मेसा (सूचना तथा संचारकर्मी), योक्थोक्वा (राजदुत/गुप्तचर प्रमुख), थक्सुवा (सेना/योद्धा/लडाकु) आदि हुन सक्दछन् । यो संस्थामा कुनै पनि ठूलो सानो नभई समान र श्रेणी विहिन (non-hierarchical) हुन्छ । चुम्लुङमा आ–आफ्नो कामको आधारमा समान हैसियत हुने गर्दछ । बैठक बस्दा समान तहमा गोलो घेरामा बस्दछन् । निर्णय पद्धति एवम् चुम्लुङको निर्वाचन सहमतीय ढाँचा (consensus model) मा हुन्छ ।

खेवाहाङ गण वा कुल वंशको पहिचान वा चिन्ह (totem) दुई खुट्टे पंछी नखानु हो । रिस्लेले सन् १९४८ मा लेखेको द ट्राइब्ज एण्ड काष्ट अफ बंगाल नामक पुस्तकको पृष्ठ (1ix) र द गजेटियर अफ सिकिमको पृष्ठ (४८६) मा खेवा लेख्न नजानेर “खेमा” लेखेका छन् । उनले “त्यो उनीहरुको समूहको नाम हो र कूल वंशको चिन्ह (totmistic) भएका समूहको रुपमा” चित्रण गरेका छन् । उनले कालिज झाडिमा खेदाएर गोली हानेको तर कालिज नभेटाएकोले फर्केर शाखा सन्तानले नखाउन भनी कसम खाएको उल्लेख गरेका छन् तर खेवाहाङहरुले आजसम्म यसो भनेको सुनिएको छैन । खेवाहाङहरुका अनुसार “खेवा” को अर्थ “लुइचे वा वन भाले” (jungle foul) हुन आउँछ । उक्त खेवा (लुइचे) को बिस्टा र मालिङगोको खरानीबाट मानव निर्माण गरिएको किरात याक्थुङ (लिम्बू) मुन्धुममा वर्णन छ । सृष्टिकालमा जंगलमा लुइचे वा वन भालेले आजका खेवाहाङ (खेवा) का पुर्खा पङ्गेन्दिङ खेवाहाङलाई साथी दिइ विवाहवारी गराई शुक्रताराको रुपधारणा गरेकोले “भगवानको रुपमा” आदि मानव पङ्गेन्दिङ खेवाहाङले मानेको भनाई छ । उनका सन्ततीहरु युद्धमा जाँदा दुई खुट्टे पंछिले खानामा माथिबाट बिष्टाएपछि अशुभ संकेतभई युद्ध हारेको र पंछी खाएमा चिताएको नपुग्ने, घाउ खटिरा आउने, रोग व्याधी शरीरमा आउने जनविश्वास छ ।

पश्चिमाहरुको मानव विकासक्रम अनुसार हेर्ने हो भने खेवाहाङ आफैमा राष्ट्र (Nation) हो । आफ्नै याक्थुङ पान (छथरे भाषा) भएका, एउटै भुगोलमा बसोबास गर्ने, सामाजिक आर्थिक मनोबैज्ञानिक सांस्कृतिक, राजनैतिक, इतिहास भएका, उपत्याकाबाट राजधानी सार्ने किरात राजाका सन्ततीहरु, राजधानी सार्दाका ताका त्यही बसोबास गर्ने किरात राजाका प्रजाहरु, तागेरा तुरुमफुकुबाट उत्पति भएकाको सन्ततिहरु, कामाक्ष कामरुपबाट आई मोरङको राजा खेवाहाङका सन्तानहरु, नागा, खादी र चोक्फुङ आदिबाट मिश्रण भएकाहरुको समष्टिगत रुपनै खेवाहाङ राष्ट्र (Nation) हो । यही खेवाहाङ राष्ट्र (Nation) को एक सदस्य तिगेला हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*