तिगेला खेवाहाङ लिम्बुको संक्षिप्त इतिहास

दस लिम्बू मध्ये एक मानिने याक्थुङहाङ लिलिमहाङ खेवाहाङ काठमाण्डौ उपत्याकामा किरातहरु राज्य विप्लवमा परेपछि करिब तेस्रा–चौथो सताब्दितिर तावालुङ सुसुवादेन ताक्लुङ आई राजधानी निर्माण गरेका इतिहास छ । यो समयमा दुधकोसीपूर्व टिष्टासम्मको भूभाग किरात राजा लिलिमहाङको पर्दथ्यो । लिम्बुवान बन्नुपूर्व आठ किरातहरुको प्रान्तीय शासनमा ताक्लुङका खेसिवाहाङ [खेवाहाङ] राजा थिए । त्यसपछि दश लिम्बुवानकालिन शासन व्यवस्थमा खेवाहाङले ताक्लुङबाट दुधकोसीसम्म शासन गर्दथे पहाड मधेसका राजा ताक्लुङका मुरेहाङ खेवाहाङका वंशज बुद्धिकर्ण राय विजयपुरका अन्तिम चौतारीया भएको समयमा कामदत्त सेनको शासन हत्याई विजयपुरको राजा भएका थिए । यिनलाई गोरखाली राजा पृथ्वीनारायण शाहका वंशजले विजयपुरमा तीन दिन यातना दिएर हत्या गरे ।

किरात याक्थुङहाङ लिलिमहाङ खेवाहाङहरुको शिर उठाउने माङगेन्ना मुन्धुमले खेवाहाङहरु यलखाम (काठमाण्डौं) उपत्याकाबाट सुनकोसीको तिरैतिर हुँदै पाहारा-कका, विजयपुर, झलहरा–वेलहरा हुँदै तमोर गढतिर पछ्याएका थिए । उनीहरुले हाङसेम्मा लुङ (माङ्सामोरङ), हाकपारा घाट, सागोकमारी, पमेजङ हुँदै तावालुङ् सुसुवादेन ताक्लुङ पुगेको मुन्धुममा उल्लेख छ । लेखक प्रेमबहादुर मावोहाङ् र भूपेन्द्र ढुंगेलले लेलिमहाङको नेतृत्वमा ५२ हजार सेना कुल कविला सहित यो ताक्लुङदेन यकमा उपत्याकाको वनेपाबाट राजधानी सारेको र ताक्लुङ यकलाई सम्पूर्ण लिम्बूहकै पुरानो राजधानी भनी संक्षिप्त नेपाल इतिहास नामक पुस्तकको पृष्ठ ८० मा उल्लेख गरेका छन । यही तथ्यलाई पुष्टि गर्दै चन्द्र प्रसाद योङयाले आफनो “मंगोल किरात संक्षित इतिहास तथा दर्शन” नामक पुस्तकको पृष्ठ १६–१७ मा ताक्लुङ लिम्बुवान कै पुरानो राजधानी हो भनेर लेखेका छन् । इतिहासविद इमानसि चेम्जोङले आफ्नो “हिज्ट्र एण्ड कल्चर अफ द किरात पिपल” नामक पुस्तको पृष्ठ ५४ (तेस्रो संस्कारण) मा दस लिम्बू मध्ये एक खेवाहाङ् भएको र उनले ताक्लुङ राजधानी बनाई पश्चिममा दुधकोसी सम्म शासन गरेको उल्लेख गरेका छन भने विद्ववान डा. हर्क गुरुङले आफ्नो “भेग्नेट्स अफ नेपाल” नामक पुस्तको पृष्ठ ३४४ मा खेवाहाङहरुले पश्चिममा दुधकोसीसम्म शासन गरेको वर्णन गरेका छन् ।

लिम्बुवानको केन्द्रीय राजधानी मानिएको विजयपुरका अत्तिम राजा बुद्धिकर्ण रायका पुर्खा विजयपुर मोरङदेखि उत्तरतिका खेबाङका छोरा सिंग राय भएको कुरा हेमिल्टनले आफ्नो “एन एकाउण्ट अफ द किङडम अफ नेपाल” नामक पुस्तकको पृष्ठ १३३ मा उल्लेख गरेका छन् । इमासिं चेम्जोङले आफ्नो “किरातकालीन विजयपुरको इतिहास” नामक पुस्तकमा बुद्धिकर्णको पुर्खा फेदापका मुरेहाङ खेवाङ भनी लेखेका छन् । यही खेवाङ लेखेकाले खेबाङ हुन कि ? भन्ने भ्रम सिर्जना भएकाले इतिहासविद शिवकुमार श्रेष्ठले यसको खण्डन गर्दै आफ्नो पुस्तक “लिम्बुवानको ऐतिहासिक अध्ययन” को पृष्ठ ४२ मा खेवांग फेदाप थुमका राजा नभई छथर थुमका राजा थिए र उनी खेवांग नभई खेवाहांग थिए भनी लेखेका छन् । “किरात सेनहाङ (थेगिम) लिम्बू वंशावली तथा इतिहास” को पृष्ठ १२२ मा सुदापका बाजाहाङ रायले विजयनारायण माथि साटो फेर्न उपाय रचेको तर सन् १६१८ को युद्धमा मृत्यू भएकोले उनको छोरा पानोहाङ खेवालाई लोहाङ् सेनले विजयपुरको अधिकार सुम्पि मकवानपुर फकिएको उल्लेख छ । त्यसैगरी “किरातेश्वर सेत्छेने सेनिहाङ लिङदेन (लिम्बू) इतिहास तथा वंशावली” को पृष्ठ ९५ मा मुरेहाङ खेवाको अवसान र वाजाहाङ खेवाको बदलाको भावनाले विजयपुरमा सेनहरुको प्रवेस भएको उल्लेख छ । त्यसैगरी गोपिलाल लिङदेन लिम्बूले “किरातको ऐतिहासिक रुपरेखा २०६६” नामक पुस्तकको पृष्ठ ३७ र “दिव्यमेरु मानस समाज” नामक पुस्तकको पृष्ठ ४८ मा राजा बुद्धिकर्ण तिगेला खेवाले विजयपुर र मोरङको राजधानीमा सन् १७६९ देखि सन् १७७३ सम्म शासन चलाए भनी उल्लेख गरेका छन् । त्यस्तै सञ्जुहाङ पालुङवाको “तेह्रथुमे ढाका टोपी मोडेलमा लिम्बुवान स्वायत्त राज्यको खाका” नामक पुस्तको पृष्ठ ४२ मा लिम्बुवानको अन्तिम राजा बुद्धिकर्ण खेवा (लिम्बू) लिम्बुवानको राजा भएको ५ वर्ष वित्न नपाउँदै गोरखाका राजा पृथ्वीनारयण शाहले खम्बुवान पछि लिम्बुवान चढाई ग-यो भनी वर्णन गरेका छन् । वीर सेनापति काङ्सोरे र दोस्रा सेनापति मुम्बिा खेवाहाङ पनि यही ऐतिहासिक ताक्लुङसंग सम्बन्धित थिए । काङ्सोरे गोरखाली सरर्दार रघु रानासंगको मल्लयुद्धमा मारिएको हड्सनले संकलन गरेको पाण्डुलिपीमा उल्लेख छ भने काङ्सोरे खेवा वंश भित्र पर्ने बरिष्ठ पत्रकार राजकुमार दिक्पाल (यक्सो) ले “मुधपर्क” मा लेखेका छन् । यसैगरी छथरका सेनापति मुदिम्बा खेवाहाङ सप्तकोसी वारी चतरा घाटको युद्धमा वीर गति प्राप्त गरेको कुरा टिकमध्वज ताप्मादेन र भुवनचन्द्र पतङवा लिम्बूले “किरात इतिहास र लिम्बू वंशावली संग्रह” को पृष्ठ ११० मा उल्लेख गरेका छन् ।

यसैगरी हज्सन संकलनमा दस लिम्बुवानका दस लिम्बूहरुको नाममा खेवा [खेवाहाङ] प्रष्टसंग उल्लेख गरेका छन् । दस लिम्बुवानका प्रभावशाली राजामा खेवाहाङ पर्दथे । खेवाहाङको उपस्थिति विना दस लिम्बुको चुम्लुङ बस्दैनथ्यो । पोक्लावाङ यकमा चारजना हाङको चुम्लुङ बस्ने थलो पाइएको छ । यी चारमध्ये एक खेवाहाङ थिए । दस लिम्बुवानको राज्यको हाङहरुमा “खेवाहाङ” योगी नगरहरीनाथ, शिवकुमार श्रेष्ठ, इमानसिं चेम्जोङ, डा.हर्क गुरुङ, भवानी वराल र कमल तिगेला, प्रेम बहादुर मावोहाङ र भुपेन्द्र ढुंगल आदिले आ–आफ्नो पुस्तकमा चर्चा गरेका छन् । ताक्लुङ उनीहरुको राजधानी सहितको माङ्गेन्ना यक हो । यो प्राचिन किरातहरुकै राजधानी भएता पनि कालान्तरमा आठ किरात र थिवोङ याक्थुङ लाजे (दश लिम्बुवान) विभाजन भई गणतन्त्रात्मक शासन व्यवस्थामा खेवाहाङहरुले ताक्लुङबाट शासन संचालन गर्दथे । भान्सिटार्टले भने श्रोतव्यक्तिको कारण ताक्लुङ खजुमहाङको भनी लेखेका छन् । यसबारेमा धेरै लेखकहरुले भान्सिटार्टको खण्डन गरिसकेका छन् । खजुमहरुको गढी ताक्लुङ नभएर “योमुई चम्खासिं/पञ्चकन्या यक” भएको स्वयम् खजुमहरुले स्वीकार गरेका छन् । खेवाहाङ र खजुमहाङ दाजुभाइ भएको केहीले बताएपनि यसबारेमा यथेष्ट प्रमाणहरु भेटिएका छैनन् । तिगेला खेवाहाङहरुको विगत, वर्तमान र दस्तावेजहरुको खोज एवम् अभिलेखिकरण आजको अपरिहार्यता भएको छ । यसले समग्र किरात याक्थुङ (लिम्बू) र नेपालको इतिहास लेखनमा टेवा पु-याउने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*